भाँडे संक्रान्तिको रौनक

भाँडे संक्रान्तिको रौनक

बझाङ — सीमान्तकृत बादी समुदायमा ‘भाँडे’ संक्रान्ति पर्वको रौनक सुरु भएको छ । यो बादी समुदायको ठूलो चाड हो । भदौ महिनाको संक्रान्तिलाई जिल्लाका अन्य समुदायले गावे संक्रान्ति पर्वका रुपमा एक दिन मनाउँछन् ।

सुदूरपश्चिमका अन्य जिल्लामा यो पर्वलाई ‘ओल्के’ संक्रान्तिका रूपमा धुमधामसंँग मनाउने गरेका छन । तर बझाङका बादी समुदायले भने ‘भाँडे संक्रान्ति’ पर्वलाई १५ दिनसम्म मनाउने गर्छन् ।

यो पर्वका अवसरमा अन्य समुदायका मानिसले मिठो मसिनो पकाएर खाने, पोइली गएका छोरी चेलीलाई माइतीमा बोलाउने गर्दछन् । गावे संक्रान्तिमा पकाइने खानामा पिँडालुको गावाको परिवार अनिर्वाय हुने गर्दछ ।

यता बादी समुदायले भने भाँडे संक्रान्ति पर्वमा अनुहारमा कमेरो र मुकुन्डो लगाई, शरीरमा कमेरो दलेर, काठको घोडामा चढी गाउँ गाउँमा नाचगान गर्दै नगद तथा अन्नपात संकलन गर्छन । बझाङको सदरमुकाम चैनपुर बजार र थलारा गाउँपालिकाको कोट क्षेत्रमा बसोबास गर्ने विपन्न बादी समुदायका मानिस यो पर्वमा एकै ठाउँमा भेला हुने गर्छन ।

यो पर्वको सुरुवात हालको जिल्ला प्रशासन कार्यालय रहेको बझाङी राजाको हात्तीसार दरबारबाट हुने र १५ दिनसम्म सदरमुकाम र आसपासका गाउँमा मादल र सारंगी बजाएर नाचगान गर्दै रमाइलो गरिने चैनपुरका रमेश बादीले बताए ।

तत्कालीन समयमा बझाङी राजाहरूलाई मनोरञ्जन दिने उद्देश्यले थालिएको अनुमान गरिएको यो पर्वलाई बादी समुदायले निरन्तरता दिदै आएका छन ।

माटाका भाँडा बनाउने भएकोले बादीहरूलाई भाँड भनिएको र भाँडहरूले मनाउने भएकोले यो पर्वको नाम भाँडे संक्रान्ति रहन गएको जानकारहरूको भनाइ छ । हाल आएर आधुनिक प्रविधिको विस्तारले बादी समुदायको माटाका भाँडा बनाउने पेशा पूर्ण रूपमा लोप भइसकेको छ ।

विवाह व्रतबन्धमा नाचगान गरेर खाने चलन पनि सूचना प्रविधि र मनोरञ्जनका आधुनिक साधनको विस्तार भएसँगै लोप भइसकेको छ । आफ्नो परम्परागत पेसा लोप भएको र अन्य पेसा अपनाउन नसकेको कारण यो समुदायमा अहिले पनि चरम गरिबी रहेको छ । ‘भाँडे संक्रान्तिमा उठाएको पैसा र अन्नपात पर्व सकिएको अन्तिम दिन भाग हाल्नुपर्छ । यसैले एक दुई महिनासम्म गुजारा चल्ने भएकाले यो पर्व आउँदा बादीहरू निकै खुसी हुन्छन्’ स्थानीय राधा बादीले भनिन् ।

उनले हर्षोल्लासका साथ मनाइने यो पर्व आउनुभन्दा केही दिन पहिलादेखि नै बादी समुदायमा तयारी सुरु हुने गरेको बताइन् । पहिला पहिला बादी समुदायले भाँडे संक्रान्ति मनाएको हेर्न विभिन्न गाउँबाट सदरमुकाममा मानिस आउने गरेका थिए । हाल आएर अरू समुदायको यसप्रति चासो घट्दै गएको पाइएको उनको भनाइ छ ।

उसो त पछिल्लो समयमा बादीहरूले पनि भाँडे संक्रान्ति पर्वलाई पहिलाको जति महत्त्व नदिने गरेको बादी समुदायका सदस्यहरू नै बताउँछन् । यहाँका अन्य जातिहरूले यसलाई महत्त्व दिन छाडेका कारण बादी समुदायमा पनि यसको महत्त्व घटन थालेको स्थानीय लक्ष्मी बादीले बताइन् ।

‘पहिला जिल्लाभरका मान्छे भाँडे संक्रान्ति हेर्न भनेर यहाँ आउने गर्थे’ लक्ष्मीले भनिन, ‘त्यो दिन मेला नै लाग्थ्यो । अहिले अरूले पनि बिर्से, हाम्रा मान्छेमा पनि पहिला जस्तो चासो छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *