नपत्याउने खोलाले मनाङको सिंगो बस्ती नै बगाएपछि..

नपत्याउने खोलाले मनाङको सिंगो बस्ती नै बगाएपछि..

काठमाडौं । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् । सधैं जसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन । किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन ।

तर उखानले भनेझै यस पटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो । संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पुर्‍याएको छ । बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ । भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन । बाढीको कहर अझै कम भइसकेको छैन ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन । तर नसोचेको अवस्था आयो । बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो ।

कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो । तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए । ‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘यो पटक भने नपत्याएको खोलाले बगाएको छ । चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन् । खोला किनारका बस्ती बारे सोच्ने बेला भएको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम पानी पर्ने जिल्ला मनाङ हो । तर यो पटक मनाङले भारी वर्षासँगै निम्तिएको संकट र क्षतिको सामना गर्नुपरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी शाखाका अनुसार यो वर्ष (२०२१) को मनसुनी वर्षाले अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको छ ।

विभागका पोखरास्थित प्रमुख राजाराम ढकालले ‘यो वर्षको मनसुनी वर्षाले मनाङमा अघिल्ला सबै रेकर्डलाई उछिनेको बताए । ‘त्यसै भएर बढी क्षति भएको हो,’ ढकालले भने । ढकालका अनुसार यस वर्ष नेपालमा मनसुन भित्रिएको भोलिपल्ट जेठ २९ देखि असार २ सम्मको अवधिमा हुम्देमा मात्र १७५.८ मिलिमिटर वर्षा भएको थियो । असार १ मा ५४.६ मिलिमिटर र २ गते ८२.२ मिलिमिटर वर्षा भएको छ ।

‘यसअघि कहिल्यै यति धेरै वर्षा भएको थिएन। यसपटक मनसुनी प्रभाव हिमाली भेगबाट देखियो,’ ढकालले भने । उनका अनुसार हिमाली भेगमा २४ घण्टामा ५० मिलिमिटिर भन्दा बढी वर्षा हुनुलाई अधिक मानिन्छ । अन्यत्रका लागि २४ घण्टामा ५० मिमिमिटर वर्षा हुनु सामान्य भए पनि हिमाली जिल्लामा भीषण मानिने उनले बताए ।

‘वर्षभरिमा हुम्देमा २ सय ५० मिलिमिटर वर्षा हुनुपर्नेमा यसपटक पाँचदिनमै १ सय ७५ मिलिमिटर कटिसक्यो, यो हिमाली भेगका लागि चुनौतीको संकेत हो,’ ढकालले भने, ‘हिमाली जिल्लामा यति सारो क्षति होला भन्ने आँकलन नै थिएन ।’

‘साँघुरो खोंच हुँदै मनाङमा खोलानाला बगेका छन् । सिरान क्षेत्रमा हिउँ थुप्रिएको र पानी पर्दा हिउँ पग्लिने र त्यसले खोलामा बहाव बढाउँदा आसपासका बस्तीमा क्षति पुगेको हो,’ उनले भने, ‘साँघुरो खोंचमा भेलबाढी पस्दा आसपासका क्षेत्रमा असर पारेको छ ।’

हिमाली भेगमा कम पानी पर्ने हुँदा बाढीको त्रासबिना ढुक्कले बसेका स्थानीय यो पटक पहिलो चोटि बाढीको चपेटामा परेको उनले बताए । ‘कम पानी पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दा बाढीको आँकलन गर्ने अवस्थामा थिएनन् । तर अहिले बाढीले झुक्यायो,’ ढकालले भने, ‘अब हिमाली क्षेत्रमा पनि खतराको जोखिम बढेको छ ।’

पृथ्वीको तापक्रम बर्सेनि ०.०६ डिग्री सेन्टिग्रेड वृद्धि भइरहँदा हिमशृंखला पग्लने क्रम पनि बढेकाले थोरै पानी पर्नासाथ हिमाली भेकमा बाढीपहिरोको जोखिम निम्तिने उनले बताए । मनाङमा मनसुन अवधिमा २ सय ३४ मिलिमिटर वर्षालाई औसत मानिन्छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मनाङवासीले प्राकृतिक प्रकोपको पहिलो पटक तितो अनुभव बटुलेका छन् । ‘मैले ९० वर्ष हाराहारीमा पुगेका वृद्धवृद्धासँग कुराकानी गर्दा यस्तो बाढीपहिरोको अनुभव अहिलेसम्म भएको रहेनछ । अहिले त बाढी प्रकोप बनेरै आयो,’ लामिछानेले भने, ‘यस्तो क्षतिको अनुमान स्थानीयवासीसँग त थिएन नै हामीले पनि अनुमान गरेका थिएनौं ।’

उनका अनुसार मनाङका अधिकांश खोलानाला कुला आकारका खोल्साखोल्सी छन् । धेरै ठाउँमा पैदल र कतैकतै काठेपुलबाटै वारपार गर्न सकिने अवस्था भए पनि अहिले अवस्था बदलिएको उनले बताए । यो खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *