‘अब बाँचिएला झैं लागेको छ’

‘अब बाँचिएला झैं लागेको छ’

काठमाडौं : सिन्धुपाल्चोक– मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका नदी तटीय क्षेत्र नराम्रोसँग प्रभावित बन्यो। मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले मानवीयसहित अकल्पनीय भौतिक क्षति हुन पुग्यो। यो वाढीले धेरै क्षति हेलम्बु गाउँपालिकामा भयो। हेलम्बुले मानविय क्षतिसहित भौतिक क्षति र केही बजारहरु नै गुमाउनु परेको छ।

हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्र कहालीलाग्दो देखिएको छ । मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ। खेतहरु बगरमा परिणत भएका छन्। कतिपय पुल, रिसोर्ट, ट्राउट फार्महरुको नामोनिशान छैन। बजार क्षेत्रका घरहरुमा तीन तलासम्म बालुवाले पुरिएका छन्।

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स क्षेत्रसमेत रहेको हेलम्बु गाउँपालिकामा अझै कतिपय मानिस हराइरहेका छन् भने भौतिक क्षति कति भयो भन्ने आकलन गर्ने अवस्था नै छैन। हालसम्म बाढीमा परी १९ जना सम्पर्कविहीन भएका छन्। जसमा तीनजना चिनियाँ नागरिक र तीनजना भारतीय नागरिक पनि छन्। अरु १४ जना नेपाली नागरिक रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

हालसम्म एक चिनियाँ सहित दुईजनाको शव फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। सम्पर्क विहीन हुनेहरुमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, ६६ वर्षीया टीका माया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ,

हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा छन्। बाढीले सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हेलम्बु गाउँपालिका हो । बजार क्षेत्रमा घरहरु बाढीले बगाएको छ भने बाँकी बसेका संरचना पुरि एको छ। बाढीले पुलहरु बगाउँदा मेलम्चीसहित राजधानीसँग हेलम्बु गाउँपालिकाको सम्पर्क विच्छेद भएको छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अहिले बाढी कम भएकाले केही आशा पलाएको बताए। ‘अहिले बाढी कम भएको छ, मौसमी अवस्थामा पनि केही सुधार आएकाले अब बाँचिएला जस्तो छ’ अध्यक्ष शेर्पाले भने। बाढीबाट प्रभावित र जोखिममा रहेकाहरु सुरक्षित स्थानमा पुगेको भन्दै उनले अब क्षतिको विवरण संकलन थालिने बताए। शेर्पाले हेलम्बु गाउँपालिकाको सम्पर्क मेलम्ची र राजधानीसँग टुटेको भन्दै सडक मर्मततर्फ लाग्ने बताए।

‘अहिले हाम्रो गाउँपालिकाको सम्पर्क मेलम्ची, काठमाडौंसँग टुटेको छ,’ अध्यक्ष शेर्पाले भने, ‘सम्पर्क स्थापित गर्नका लागि रोडहरु बनाउने तयारी भएको छ ।’ सडकले मात्र गाउँपालिका विच्छेद भएको छैन। टेलिफोन र बिजुली पनि नहुँदा थप स’मस्या भएको उनले बताए। ‘टेलिफोन र बिजुली पनि नहुँदा थप समस्या भएको छ’, उनले भने, ‘त्यसका लागि हामीले पहल गरिरहेका छौं, कतिपय स्थानमा बिजुलीका पोलहरु र तार लागयत बाढीले बढाउँदा समस्या भएको छ।’

सडक सम्पर्क टुटेका कारण राहतको व्यवस्थापन गर्न कठिन भएको उनले बताए। ‘सडक माध्यमबाट आएको राहत मेलम्चीबाट आउने सम्भावना छैन, सडक र पुलहरु छैनन्, नागरिकलाई राहत उपलव्ध गराउन हामीले काम गरिरहेका छौं’ उनले भने, ‘सडक सञ्जाल जोडेपछि राहतको पहल थाल्छौं।’ अध्यक्ष शेर्पाले बाढीले क्षति पुर्‍याएका तीन स्थानीय तहबीच समन्वय गरेर एकीकृत योजना बनाएर अघि बढ्ने बताए । ‘मेलम्ची, पाँचपोखरी र हेलम्बु गाउँपालिका बीच समन्वय गरेर क्षति भएका भौतिक संरचना निर्माणका लागि एकीकृत योजना बनाएर हामी अघि बढ्छौं’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *