एमसीसी: कार्यदलका संयोजक खनाल र सदस्य डा.रावलले प्रधानमन्त्री ओलीलाई बुझाए लिखित पत्र

एमसीसी: कार्यदलका संयोजक खनाल र सदस्य डा.रावलले प्रधानमन्त्री ओलीलाई बुझाए लिखित पत्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेञ्ज कार्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न बनाएको कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् र, एमसीसी सम्झौताका आयोजना जस्केलाबाट अघि बढाउन खोजेको हो भनेर प्रश्न गरेका छन् ।

नेपालको कार्यदलले एमसीसी सम्झौता संशोधन र परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने राय दिएको छ । कार्यदलको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल गरेर सत्तारुढ नेकपा एमसीसीबारे एउटा निर्णयमा पुग्न बाँकी छ ।

तर जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशासन लाइन आगाडि बढाइने छ’ भनिएको छ ।

त्यसलाई लिएर कार्यदलका संयोजक खनाल र सदस्य रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई आइतबार लिखित पत्र बुझाएका छन् । एमसीसी सम्झौताको आयोजनालाई सरकारको नीति तथा कार्यक्रममा जस्ताको तस्तै उल्लेख गर्नुले एमसीसीबारे केन्द्रीय कमिटीको निर्णय विपरित सरकार अगाडि बढ्न लागेको त होइन भन्ने आशांका जन्माएको नेताद्वयले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रमा भनिएको छ, ‘उक्त आयोजना नेपाल सरकारले आफैं बजेट व्यवस्था गरी सञ्चालन गर्न खोजिएको हो वा जस्केलाबाट एमसीसी सम्झौतामा उल्लेखिम आयोजनालाई अघि बढाउन खोजिएको हो भन्ने सम्बन्धमा प्रधानमन्त्रीको स्थानबाट नै प्रष्ट हुन आवश्यक छ ।’
एमसीसी कार्यदलको ३१ बुँदे सुझावलाई स्मरण गराउँदै खनाल र रावलले यो संविधानको मार्ग निर्देशन र नेकपाको सिद्धान्त, नीति र प्रतिवद्धताको प्रतिकुल रहेको बताएका छन् । ‘कतिपय प्रावधानहरुमा संशोधन र परिमार्जन नगरी सम्झौता संसदबाट पारित गरिनु नहुने कुरा छर्लङ्ग छ’ नेताद्वयले पत्रमा लेखेका छन् ।
साथै आफूहरु सहभागी कार्यदलको प्रतिवेदनका आधारमा सम्झौताबारे छलफल गरेर मात्र निश्कर्षमा पुग्न पार्टी कमिटीको बैठक राख्न समेत माग गरेका छन् ।अनलाइनखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *