बाबुराम भट्टराई र उपेन्द्र देवकोटालाई पढाएका बेलायती नागरिक पुतलीबाजेको अन्तिम ईच्छा यस्तो

बाबुराम भट्टराई र उपेन्द्र देवकोटालाई पढाएका बेलायती नागरिक पुतलीबाजेको अन्तिम ईच्छा यस्तो

भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवङ्गत चिकित्सक उपेन्द्र देवकोटाजस्ता व्यक्तिहरूलाई पढाएका शिक्षक बेलायती नागरिकको नेपाली नागरिकता लिएर मर्ने धोको छ । बेलायतवाट नेपाल आएर शिक्षण पेशा गरेका उनले गोरखाको भट्टराई र देवकोटा लगायतलाई विद्यालयमा विज्ञान र गणित विषय पढाएका थिए । उनलाई सबैले पुतलीबाजे भनेर चिन्छन् । उनका अनुसार उनका मामालाई पनि पुतली मन पर्थ्यो। मामाको बेलायतस्थित एउटा सानो खेतमा पुतली सङ्कलनले उनलाई सानैदेखि पुतलीप्रति आकर्षण बढ्यो। उनी बेलाबेला पुतली हेर्न त्यहाँ गइरहन्थे। ठूलो भएपछि कामको सिलसिलामा उनी नेपाल आए। दुर्गम क्षेत्रका विद्यालयमा पढाए। आफ्नो पढाउने कामवाट रिटायर्ड भएपनि उनलाई नेपालको मोहले भने छोडेन।

उनले नेपालमा थुप्रै रङ्गका पुतली देखे। त्यसरी देखेका पुतली सङ्कलन गर्न थालेकै चार दशक भइसक्यो। अङ्ग्रेजी लवजमा नेपाली बोल्दै उनले भने, सबै जिल्ला नै त घुमेको छैन तर हिमाल, पहाड र तराईका थुप्रै जिल्ला पुगेको छु। ती सबैजसो ठाउँबाट पुतली बटुलेर ल्याएको छु। रङ्गीबिरङ्गी पुतली खोज्दै उनी कहिले नेपालको कुन भेग त कहिले कुन भेग पुगे। जीवनको ठूलो हिस्सा उनले पुतलीको अनुसन्धानमै बिताए। र, पुतली सम्बन्धी नै थुप्रै पुस्तक पनि प्रकाशन गरेका छन् । पोखरा महानगरपालिका १८ ग्यारजाती स्थित आफ्नो कुटीमा कोलिन स्मिथ अर्थात् पुतली बाजे अहिले जिवनको उत्तरार्थमा पुगेका छन् । मैले सुरुमा पुतली सङ्कलन गरेको ब्रिटेन मै हो। त्यहाँ लन्डनमा एकजना डक्टर थिए। उनका नातिहरूले पहिलोपटक मलाई बटरफ्लाई ग्र्यान्डड्याड भने। मैले पहिलोपटक त्यहीँ सुनेको हो। पछि नेपालमा चाहिँ मलाई अरूले पनि पुतली बाजे भनेर बोलाउन थाले, उनले भने।

बीबीसीको प्रश्नमा उनले भने, खुसी लाग्छ। बाटोमा धेरै मानिसहरूले ओहो एकछिन बस्नूस्, कुरा गर्नुस्भन्छन् अनि मोबाइलमा फोटो खिच्छन्। त्यसैले खुसी लाग्छ। पुतलीको मानव जीवनमा ठूलो महत्त्व रहेकोले पनि आफ्नो रुचि पुतलीतर्फ बढेको उनी बताउँछन्। उनका अनुसार नेपालमा छ सय ६० जातका पुतलीहरू छन्। उनी पोखरा विन्ध्यवासिनीनजिकै एउटा सामान्य घरमा बस्छन्। उनको जीवनशैली निकै साधारण छ। सुरुमा भाडामा बस्दै आएका उनी अहिले चाहिँ आफैँले जग्गा किनेर बनाएको सानो घरमा बस्छन्। घर किन्नका लागि मैले पैसा हालेँ तर नागरिकता नभएकाले घर चाहिँ मसँगै ३० वर्षदेखि काम गर्ने मान्छेको नाममा किनेको छु।

सन् १९६६ सालमा नेपाल आएका उनले जीवनको धेरै समय यहीँ बिताइसके। अहिलेसम्म नेपालमा बस्नका लागि भिसाको समयावधि थप्दै नेपालमा बस्दै आएका उनको नागरिकता पाउने ठूलो धोको छ। कानुनअनुसार नागरिकता पाउन विदेशी नागरिकले नेपालमा २० वर्ष बस्नुपर्छ। मैले २५ वर्ष बसेर नागरिकताका लागि निवेदन दिएँ तर पाएको छैन, उनले भने। अहिले फेरि निवेदन दिएको छु। तर अहिलेसम्म बनेको छैन। परमेश्वरको इच्छा छ भने पाउँछु होला। नेपालमा पुतलीका लागि बसे पनि भयो। हिमालका लागि बसे पनि भयो। तर म चाहिँ नेपालीहरूले गर्दा बसेको। उनीहरूले धेरै माया गर्छन्।असी वर्ष पार गरिसकेका उनको अब त बेलायतमा आफ्ना भन्नु पनि कोही नभएको उनी बताउँछन्। त्यसैले पनि उनलाई नेपालमै आफ्नो अन्तिम सास फेर्न मन छ। बीबीसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *