रिटर्नी माइग्रेन्ट युवाहरु तालिम पश्चात उद्यमशिल बन्दै

रिटर्नी माइग्रेन्ट युवाहरु तालिम पश्चात उद्यमशिल बन्दै

चेतन थापा,कैलाली। बैदेशिक रोजगारबाट स्वदेश फर्किएका कैलाली र कंचनपुरका ८० जना रिटर्नी माइग्रेन्ट युवाहरु उद्यमशिलतातर्फ अघि बढेका छन् ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गतको स्किल (skill) कार्यक्रम र युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदको सहयोगमा रिटर्नी माइग्रेन्ट नेपालद्वारा संचालित ३९० घन्टे च्याउ खेति, बाख्रा पालन तथा बंगुर पालन तालिम मार्फत उनीहरु स्वरोजगारका लागि तयार भएका हुन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीको उपस्थितिमा कंचनपुरको भीमदत्त नगरपालिका र कैलालीको धनगढी उप महानगरपालिकाका तालिमप्राप्त ४० जना रिटर्नी माइग्रेन्टहरुसंग आयोजित छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रममा उत्साहपूर्ण ढंगले तालिम प्राप्त युवाहरुलाई उद्यम गर्न सहजताका लागि परिषदकै पहलकदमीमा नेपाल सरकारद्वारा जारी भएको सहुलियतपूर्ण कर्जा प्रदानका लागि बैंकहरुसंग आवश्यक समन्वय गर्ने र यसरी ३९० घन्टे तालिम प्राप्त युवाहरु सानो आर्थिक समस्याका कारण उद्यम शुरु गर्ने कठिनाईबाट मुक्त हुने परिषदका उपाध्यक्ष ढुंगेलले बताउनु भयो ।


इमान्दारिता, लगनशीलता र दृढताका साथ आफुले सिकेको सिपको उपयोग गर्न र जीवनको ३९० घण्टा खर्चेर आर्जन गरेको सिपलाई खेर जान नदिन स्वयं तालिमप्राप्त रिटर्नी युवाहरु सचेत हुनुपर्नेमा जोड दिंदै ढुंगेलले राज्यले लगानी गरेर तालिम प्राप्त गरेका कसैलाई पनि खालिहात बस्न छुट नभएको उल्लेख गर्नुभयो । तालिमका लागि तालिम लिने र तालिमबाट प्राप्त प्रमाणपत्र सिरानी राखेर सुत्ने समयको अन्त्य भएको भन्दै परिषद उपाध्यक्ष ढुंगेलले अब तालिम लिएका हरेकले उद्यमशिल बन्नैपर्ने र त्यसका लागि आवश्यक समन्वय र सहोगको लागि राष्ट्रिय युवा परिषद सदैव ती उद्यमीको साथमा रहने प्रतिबद्धता गर्नुभयो ।


यसै क्रममा स्थानीय बैंकका साखा प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रममा परिषदका उपाध्यक्ष ढुंगेलले सरकारले घोषणा गरेको सहुलियत कर्जाको स्किम बिनोध चौधरी र राजेन्द्र खेतान जस्ता ठुला ब्यापारीका लागि नभएको भन्दै थोरै पूंजीको अभावमा आफ्नो सीप, अनुभव र उद्यमी बन्ने जोस जाँगर बोकेका युवाहरुलाई उत्साह थप्न र स्वरोजगारको माध्यमबाट उनीहरुलाई समाजमा सम्मानजनक ढंगले स्थापित गर्ने उद्देश्यले निर्मित कार्यक्रम भएकोले बैंकहरुले सोहि अनुसार कार्यान्वयन गर्न आनाकानी गर्न नमिल्ने उल्लेख गर्नुभयो । कर्जा प्रवाह गर्ने उद्यमी बैंक आफैंले छनौट गर्ने, त्यसमा ५% भन्दा माथिका सबै ब्याज र ५०% सम्म बिमाको भार राज्यले बोकेको सहुलियत कर्जाको सजिलो स्किमलाई बैंकहरुले कार्यान्वयन गर्नमा गरेको आलटालले आफुहरु आश्चर्यचकित भईरहेको उहाँले बताउनुभयो ।

कैलालीको गौरिगंगा नगरपालिका र कंचनपुरको पुनर्वास नगरपालिकामा दोश्रो चरणको कार्यक्रम उद्घाटनका क्रममा रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जीवनका उर्जाशील समय बिदेशमा खर्चेर राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहयोग पुर्याएका आम रिटर्नी माइग्रेन्टहरुले आ-आफ्ना पालिका र प्रदेश सरकारसंग आफ्ना लागि बार्षिक नीति तथा कार्यक्रमबाटै आफु सम्बोधन हुनेगरी कार्यक्रम र बजेट माग गर्न पछी हट्न नहुने धारणा राखनुभयो । रिटर्नी माइग्रेन्टहरु एकीकृत ढंगले परिचालित हुनसके केहिपनि असम्भव नरहेको उल्लेख गर्दै अधिकारीले रिटर्नी माइग्रेन्ट अभियान संचालन भएदेखि सरकारले केहि कार्यक्रम ल्याएको भएपनि त्यो पर्याप्त नभएको र कार्यान्वयनमा जटिलता देखीएको र सबै रिटर्नीहरु एकाकार हुनसके राज्यद्वारा रिटर्नी लक्षित प्रशस्त कार्यक्रम र बजेट प्राप्त हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।

क्षमता बिकास र सहुलियत कर्जा प्राप्तिमा बिभिन्न बैंकहरु तथा सरोकारवाला निकायसंग समझदारी गरि अघि बढिरहेको र कैलाली कंचनपुरमा तालिमप्राप्त रिटर्नीहरु उद्यममा जोडिएको खण्डमा देशैभर यस्ता कार्यक्रम संचालन मार्फत धेरै रिटर्नी माइग्रेन्टहरु लाभान्वित हुनसक्ने तर आर्जित सिपको उपयोग नगरी खेर गएको पाइएमा यस्ता तालिम र सिपको अपेक्षा गरेर बसेका थुप्रै रिटर्नी साथीहरु त्यसबाट बन्चित हुनपुग्ने हुँदा हासिल सिपको अनिवार्य उपयोगिताको लागि तालिमप्राप्त युवाहरु अघि बढ्नुपर्ने र त्यसको लागि सँस्थाले गर्नुपर्ने सहयोगमा कुनै कमि नआउने अध्यक्ष अधिकारीले बताउनुभयो ।
कार्यक्रमहरुमा सम्बन्धित पालिका प्रमुख, उप प्रमुख तथा प्रशासकीय प्रमुखहरुको उपस्थिति रहेको थियो । स्थानीय बैंकर, समाजसेवी तथा रिटर्नी माइग्रेन्ट नेपालका तर्फबाट पदम बिष्ट, सामुहिक लगानी समितिका अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा, सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतन थापा, कंचनपुर जिल्ला अध्यक्ष कर्ण बहादुर चन्द लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

पहिलो चरणको तालिम पुरा गरेका रिटर्नी युवाहरुले तालिमले व्यवशायिक रुपमा अघि बढ्न नयाँ बाटो देखाएको र पुराना मान्यता तोडी आफुहरु ब्यबसायिक रुपमा सिकेको सिपको प्रयोग गर्न तयार भएको उल्लेख गर्दै बैंकको सहुलियत कर्जाको कार्यक्रम संग जोडीदिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *