निजगढको झरनामा आन्तरिक पर्यटकको ओइरो(भिडियो सहित)

निजगढको झरनामा आन्तरिक पर्यटकको ओइरो(भिडियो सहित)

मध्यतराईका पर्सा, बारा रौतहट जिल्लामा पर्ने चुरे क्षेत्रमा पर्यटकीय सम्भावना बढ्दै गएको छ।

पर्साका ठोरी, पर्सा राष्ट्रिय निकुञ्ज, अमलेखगंज हात्तीसार, बाराको निजगढको शीतल झरना, मोहरी पार्क तथा रौतहटको बागमती किनारको नूनथरलगायतका ठाउँले चाडपर्व र बिदाका दिनमा पर्यटकलाई लोभ्याउने गरेको छ।

दशैं, तिहारको बीचमा बाराको निजगढ नगरपालिका वडा नं ३ सिंगौलको शीतल झरनामा अहिले आन्तरिक पर्यटकहरूको ओइरो लाग्ने गरेको छ। दैनिक ५०–६० जना आन्तरिक पर्यटक झरनामा नुहाउन आउने गरेकोमा बिदाको दिन शनिवार करीब डेढ–दुर्ई सयजना पर्यटक सो झरनामा पुग्ने गरेको स्थानीयहरू बताउँछन्। निजगढबाट उत्तरतर्फ लागेपछि बगरको तीनवटा खोला पार गरी एउटा डाँडा पार गरेपछि उक्त झरना आउँछ। यातायातको हिसाबले दुर्गम भएपनि झरनाको नजीकसम्म मोटरसाइकल जान्छ भने आधा घण्टा पैदल हिंडेपछि सो झरनामा पुग्न सकिन्छ।

यसलाई सिंगौलको पीपलडारको झरना पनि भनिने गरिन्छ। वीरगंजबाट यति नजीकै झरनाको मज्जा लिन पाउँदा खुशी लागेको वीरगंजका मनोहर साह बताउँछन्। उनीसहित ६ जना साथीको समूह गत बिहीवार शीतल झरनामा नुहाएर वीरगंज फर्केका थिए।

स्थानीय सरकारले उक्त पर्यटकीय गन्तव्यलाई संरक्षण र प्रवद्र्धन गरेको खण्डमा आन्तरिक र बाहिरी पर्यटक तान्न सकिने बारा होटल व्यवसायी सङ्घका अध्यक्ष मोहन शर्मा बताउँछन्। झरनासम्म पुग्न सडक भएमा, आसपास होटल, रेस्टुरेन्टको सुविधा भएमा वीरगंज तथा भारतीय पर्यटकलाई त्यहाँसम्म लग्ने सकिने होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त बताउँछन्।

त्यसैगरी, पर्साको ठोरी र सुवर्णपुरमा होम स्टे, राई धारा, झुलुङ्गे पुल, बाराको अमलेखगंजमा कामिनी दह, पुरानो रेलवे टिकट घर, हलखोरिया जङ्गल, चकरीमा होम स्टे, निजगढको मोहरी पार्क, दु्रतमार्ग, बाराको विश्वप्रसिद्ध गढीमाई, रौतहटका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटर टुर प्याकेज बनाएर पर्सा राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, पशुपक्षी तथा वन्यजन्तुको लागि रामभौरीभाठालगायतका क्षेत्र विकास गरे पर्यटकीय विकास गर्न सकिने व्यवसायीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *