अस्पताल प्रशासन र मृतक परिवारबीच पाँचबुँदे सहमति! आन्दोलनका कार्यक्रम फिर्ता (सहमति)

अस्पताल प्रशासन र मृतक परिवारबीच पाँचबुँदे सहमति! आन्दोलनका कार्यक्रम फिर्ता (सहमति)

कैलाली । सुत्केरी महिलाको मृत्युपछि आन्दोलनरत् आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । शल्यक्रिया गरेकी उनको पेट सुन्निएपछि मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।

पेट सुन्निने समस्या देखिएपछि डाक्टरले ग्यास्टिकको उपचार गरेका थिए । तर बिरामी कम नभएपछि उनलाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो तर, बाटोमै मृत्यु भयो । मृत्यु भएपछि शव आफन्तले बुझ्न मानेका छैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताउनुभयो । मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशीला मिश्र भट्ट, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि डा. चेतराज जोशी, दयाकृष्ण पन्त, अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. हेमराज पाण्डेय र मृतक महिलाका पति जयबहादुर थापाबीच सेती अञ्चल अस्पतालमा भएको छलफलपछि सहमति जुटेको हो ।

आन्दोलनरत् आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ ।

सहमतिअनुसार घटनाका सम्बन्धमा छानबिन समिति गठन गरिनेछ । समितिले निकालेको निष्कर्षअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सबै पक्ष सहमत भएका छन्  छानबिन समिति गठनका लागि वरिष्ठ स्त्रीरोग विशेषज्ञ पठाइदिन सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै, नवजात शिशुको उपचार आवश्यकतानुसार सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयले गर्नेछ । मृतकका नवजात शिशुको २४ वर्षसम्म सेती अञ्चल अस्पतालले निःशुल्क उपचार गर्ने सहमति भएको छ । यसैगरी, उक्त शिशुको उपचार ‘फास्टट्रयाक’बाट गरिने भएको छ । शिशुको उपचार झन्झटिलो नहोस् भनेर परिचयपत्रको व्यवस्था गरिनेछ ।साथै, मृतकका सन्तानको भरणपोषणका लागि राहत प्रदान गर्न सामाजिक विकास मन्त्रालयमार्फत् प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने सहमति भएको छ ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका थिए ।शुक्रबार दिउँसो भएको सहमतिसँगै मृतक महिलाका आफन्तजनले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *