रोटरी क्लब अफ मातृभूमि बालुवाटारकाे अध्यक्षमा अनुज थापा चयन

रोटरी क्लब अफ मातृभूमि बालुवाटारकाे अध्यक्षमा अनुज थापा चयन

काठमाडौँ । रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अध्यक्षमा युवा उद्यमी तथा समाजसेवी अनुज थापा चयन भएका छन् । हरेक वर्ष नेतृत्व हस्तातरण गर्ने रोटरीको परम्परा अनुसार सो क्लबले आगामी १ वर्षका लागि थापालाई नेतृत्व हस्तातरण गरेको हो ।काठमाडौंमा मगलबार आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ मातृभूमि बालुवाटारले नयाँ अध्यक्षका रुपमा थापालाई जिम्मेवारी सुम्पिएको हो ।थापासँगै आगामी वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ ।

उत्साही नेपाली युवाहरुको सक्रियतामा ५ वर्षपहिले स्थापना भएको रोटरी क्लब अफ मातृभूमि बालुवाटारले छोटो समयमै समाजसेवाका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । स्थापनाको पाचौँ वार्षिकोत्सव समेत मनाइएको सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष जयराम सिग्देलले नयाँ अध्यक्ष थापालाई जिम्मेवारी हस्तातरण गरे ।

रोटरी क्लब नेपाल र भुटान च्याप्टरका अध्यक्ष राजीव पोखरेलले नयाँ अध्यक्ष थापालाई रोटरीको शपथ ग्रहण पनि गराएका थिए ।

करिब १० वर्ष जापानमा अध्ययन तथा व्यवसायमा संलग्न भएर बसेका युवा व्यवसायी थापा नेपाल फर्किएपछि पनि पयर्टन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।

जापानमा रहँदा अन्तर्राष्ट्रिय नेपालीमाझ लोकप्रिय सामाजिक संस्था एनआरएनए जापानका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य समेतको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका थिए । नेपालमा पनि थापा व्यवसायका अलावा विभिन्न सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष राजीव पोखरेलले रोटरी समाज सेवा गर्ने पवित्र उद्देश्यसहितको संस्था भएकाले स्वार्थरहित सेवा गर्ने जोकोही पनि यस संस्थामा आबद्ध हुन सक्ने बताए । समाजसेवाका क्षेत्रमा छोटो समयमै पनि मातृभूमि बालुवाटार क्लबले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै पोखरेलले प्रशंसासमेत गरेका छन् ।

सो अवसरमा क्लबका चार्टर अध्यक्ष निगम हुमागाई, पूर्वअध्यक्षहरु विष्णुहरि दाहाल, विनोद अधिकारी र निवर्तमान अध्यक्ष जयराम सिग्देलले नयाँ अध्यक्ष अनुज थापाको कार्यकाल सफल हुनेमा आफूहरु विश्वस्त रहेको बताउँदै सबै मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा पत्रकार टिकाराम यात्रीलाई मातृभूमि हिरोको उपाधिद्वारा सम्मान गरिएको थियो भने पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, वरिष्ठ पत्रकार भूषण दाहाल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

विश्वका २ सय देशमा समाजसेवामा अग्रणी भूमिका खेलिरहेको रोटरी क्लबमा नेपालमा पनि साढे ५ हजार सदस्य छन् । विश्वभरीका विपद्मा सेवा गर्दै आइरहेको रोटरीले नेपालमा पनि गएको भूकम्पमा सबैभन्दा बढी सहयोग गरेको थियो । कोरोना महामारीको यो संकटमा पनि रोटरी क्लबले देशका विभिन्न क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *