डोटीमा १५ जना कोरोना संक्रमित घर-घरमा पुगे

डोटीमा १५ जना कोरोना संक्रमित घर-घरमा पुगे

असार ,२ डोटी । शिखर नगरपालिका-३ आलीका एक युवक १२ जेठमा श्रीमती र छोरासहित भारतबाट फर्किए । नगरपालिकाले स्थानीय अमरज्योति आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा भारतबाटै आएका अन्य २६ जनासँगै बसे ।

१५ गते छोरा बिरामी भएपछि उनी शिखर नगरपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल डोटी पुगे । अस्पतालले उनीहरूलाई आइसोलेसनमा राख्यो र १६ गते स्वाब संकलन गरी सेती प्रादेशिक अस्पताल पठायो । १९ गते नतिजा आउँदा युवकमा संक्रमण पुष्टि भयो । उनी डोटीका पहिला संक्रमित हुन् । उनकी श्रीमती र छोराको रिपोर्ट भने नेगेटिभ आएको छ ।

भोलिपल्टै स्वास्थ्य कार्यालय, डोटीले उक्त क्वारेन्टिनमा बसेका सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठायो । तर नतिजा आउन ढिलो भयो ।

जेठ ३० गते उनीहरू सबैलाई रिपोर्ट नेगेटिभ आएको खबर आयो । क्वारेन्टिनमा बसेकाहरूले खुसी साटासाट गरेर घर फर्किए ।
स्थानीय तहले होम क्वारेन्टिनमा बस्नु भनेको भए पनि रिपोर्ट नेगेटिभ आएकाहरू ढुक्कले घर परिवारमा घुलमिल भए ।

तर तीन दिनपछि ३२ गते खबर आयो, क्वारेन्टिनमा बसेकामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भयो । म त भलिबल खेल्न गएको थिएँ, खेल मैदानमै एक जनाले पोजेटिभ भएको खबर सुनायो १८ वर्षीय हर्क बोगटी भन्छन्, सुरुमा विश्वासै गर्न गार्‍हो भयो तर विश्वास नगरी के गर्नु ?’ स्थानीय मटेला भन्ने ठाउँमा भएको भलिबल प्रतियोगितामा चार टिमले भाग लिएका थिए । भलिबल खेल्न त्यहीँ पुगेका हर्क भन्छन् ‘त्यहाँ करिब ५०/६० जना थिए ।

३३ वषर्ीय खड्क बोगटी पनि आफ्नो रिपोर्ट नेगेटिभ आएको भन्दै ३० गते घर गएका थिए । ‘लामो समयपछि भारतबाट आएको थिएँ । संक्रमण भएको छैन भनेपछि छोराछोरीहरूसँग पनि रमाए, गाउँले सबैसँग ढोगभेट गर्न गएँ’ खड्कले अनलाइनखबरसँग भने, ‘फेरि संक्रमित भएको खबर आयो, हिजोदेखि अलग बसेको छु ।

उनीहरू प्रयोगशालाले गलत रिपोर्ट दिएको भन्दै आक्रोश पोख्छन् । ‘हामी १४/१५ दिन क्वारेन्टिनमा बसिसकेका थियौं, दुई चार दिन अरू बस्न के समस्या थियो र ?’ खड्क भन्छन्, ‘तर हामीलाई गलत सूचना दिएर जबरजस्ती क्वारेन्टिनबाट निकालियो ।

२५ वर्षीय शिवराज बोगटी पनि यस्तै गुनासो गर्छन् । उनी भन्छन् ‘हामीले बरु घरबाट खाना मगाएर खान्छौं, यतै बस्छौंभन्दा पनि मानेनन् । रिपोर्ट आयो भनेर हामीलाई झूटो खबर दिएर पो घर पठाइएको रहेछ ।

स्थानीय खगेन्द्र बोगटीका अनुसार आली गाउँमा एक सय ५२ परिवार छन् । १५ जना संक्रमितहरू दुई दिनसम्म गाउँमा घुलमिल भएका छन् । त्यसले गाउँवासीमा त्रास बढेको छ । अब के गर्ने भनेर केही नभनिएको समेत खगेन्द्रले बताए । उनी भन्छन  जनप्रतिनिधि, न स्वास्थ्यकर्मी, न सुरक्षाकर्मी कोही पनि आएका छैनन् अहिलेसम्म ।

गाउँका सबैको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्छन्, अर्का स्थानीय श्याम बोगटी । उनले भने ‘हामी सबै जोखिममा छौं । डराईडराई कति दिनसम्म बाँच्ने ? हामी सबैको जाँच हुनुपर्छ । उनले गलत सूचना दिने व्यक्ति र लापरवाही गर्ने नगरपालिकाका कर्मचारीहरूमाथि कारबाही गरिनुपर्ने माग समेत राखे ।

नगर स्वास्थ्य इकाई प्रमुख भन्छन् : झूट बोलेका छैनौं

शिखर नगरपालिका स्वास्थ्य इकाई प्रमुख हरिश शाह आफूहरूले गलत सूचना नदिएको दाबी गर्छन् । ‘हामीले उहाँहरूलाई दुईचार दिन बस्नुहोस्, नजानुहोस् भन्दा पनि मान्नु भएन’ शाह भन्छन्, ‘उहाँहरू जिद्दी गरेर घर जानु भएको हो ।

नगरपालिकाको तर्फबाट कुनै लापरवाही नभएको उनको दाबी छ । उनी भन्छन् ‘पहिलो संक्रमितलाई १४ दिन आइसोलेसनमा राखिसकेपछि जिल्ला अस्पतालले डिस्चार्ज गरेका कारण उनीहरू पनि घर जान आतुर भएका हुन् ।

तर शाहको दाबीलाई खारेज गर्छन्, खड्क बोगटी । उनी भन्छन् ‘हामीले घरबाट खाना ल्याएर खान्छौं, रिपोर्ट नआएसम्म जाँदैनौं भन्दा पनि मानिएन ।
तीन दिनपछि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय
स्वाबको नतिजा नआउँदै क्वारेन्टिनबाट घर गएका व्यक्तिहरूमा संक्रमण देखिएको तीन दिनपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेको छ र उक्त गाउँका मानिसहरूलाई अत्यावश्यक कामका लागि बाहेक बाहिर जान नदिने गरी गाउँमा सुरक्षाकर्मीहरू परिचालन गर्ने निर्णय गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई भन्छन् ‘केन्द्रको निर्णयअनुसार सशस्त्र प्रहरीको टोली खटाइसकिएको छ, उहाँहरू पुग्दै हुनुहुन्छ होला ।’ त्यो ठाउँका मान्छेहरूलाई बाहिर जान नदिने र अन्य ठाउँका मान्छेहरू पनि त्यो गाउँमा जान नदिने गरी निर्णय भएको भट्टराईले बताए । उनी एक घरबाट अर्को घरसम्म पनि जान नदिने निर्णय भएको बताउँछन् ।

संक्रमितको धेरै नजिक आएका व्यक्तिहरूको पहिलो चरणमा स्वाब संकलन गर्ने र बिस्तारै अरूको पनि टेस्ट गर्ने योजना रहेको भट्टराई बताउँछन् ।अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *