२१ जेठ, वीरगञ्ज । वीरगञ्जमा अर्थमन्त्री युवराज खतिवडाले लिएको कर नीतिविरुद्ध प्रदर्शन गरिएको छ ।
नेकपाका महानगरपालिका कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा अर्धनग्न प्रदर्शन गरिएको हो । अन्सारीको प्रदर्शनमा वीरगञ्जका युवा व्यापारीले साथ दिएका थिए ।
श्रमजीवी, व्यापारीसँग बाँकी लगाएको कपडा मात्रै हो त्यो पनि लिनुस् भनेर फुकालेर दिएको उनी बताउँछन् । ‘लकडाउनका कारण श्रमजीवि, जनता र व्यापारीसँग कर तिर्ने पैसा त छँदै छैन । भएको एक जोर लगाएको कपडा हो’ उनले भने ‘लगाउने कपडा मात्रै बाँकी रहेकोले करको रुपमा त्यही कपडा दिएर सांकेतिक विरोध जनाइएको युवा नेता अन्सारीले बताए ।
शुरुमा सम्पूर्ण कर मिनाहा गर, व्यापारी मार्न पाईदैन, चुलो निभेको छ, जनता भोका छन्, कर तिर्न सक्दैनौं, लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले पछि कपडासमेत खोलेर अर्धनग्न बनेर प्रदर्शन गरेका थिए ।
कोरोनाले व्यापारी मारमा परेको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै करका लागि ताकेता गर्नु गलत भएको उनी बताउँछन् । कोरोनाले पार्टी, नेता, व्यापारी, मजदुर कसैलाई चिनेको छैन । सबै पीडित छौ । लकडाउनले गर्दा मरिरहेका, ढलिरहेका, उद्योगी व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै यति दिन भित्रमा कर तिर्नुस् भनेर ताकेता गरिएको छ’ उनले भने ‘विरोध गरेपछि समय थपिएको छ, फेरि छुट पनि खारेज गरेर अमानवीय कार्य गरिएको छ ।