दम्पतीबीच हुने यस्ता झगडाले थप परिपक्क बनाउँदै लैजान्छ

दम्पतीबीच हुने यस्ता झगडाले थप परिपक्क बनाउँदै लैजान्छ

बेला बखत श्रीमान्-श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो। पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ।

यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन। दम्पतीबीच हुने मनमुटाव एवं झगडा उनीहरूमा मात्र सीमित हुँदैन । त्यसले सबैभन्दा बढी उनीहरूका बालबच्चालाई पिरोल्छ, त्यसपछि आमाबुबालाई । परिवारका सदस्य, आफन्त, इष्टमित्रलाई समेत असर गर्छ।

घर-व्यवहार चलाउने क्रममा सानोतिनो विवाद हुन्छ। तर, कतिपय दम्पतीको प्रवृत्ति नै झगडालु हुन्छ। उनीहरू स-सानो निहुँ निकालेर झगडा गर्न खोज्छन्। कुनै पनि कुरामा सम्झौता गर्दैनन्, संयम अपनाउँदैनन्। मुखमा जे आयो, त्यही बोल्छन्। आपसमा झगडा हुन्छ। आफ्नो झगडाले गर्दा परिवारमा कति अशान्ति छाएको छ भन्ने समेत हेक्का राख्दैनन्।

त्यसबाहेक पनि कतिपय स-साना कुरा हुन्छन्, जसले दम्पतीबीच आशंका वा बेमेलको स्थिति बनाइरहन्छ। जस्तो कि एकले अर्काको कुरा सुन्दै नसुन्ने । कुनै पनि कुराको निर्णय गर्दा एकले अर्काको बेवास्ता गर्ने, आफू खुसी हिँडडुल गर्ने। आफ्नो कुनै पनि कुरा सुनाउँदै नसुनाउने।

हुन त कतिपयको स्वभाव के हुन्छ भने खुलेर नबोल्ने । उनीहरू आफ्ना श्रीमान वा श्रीमतीसँग मात्र होइन, अरू कसैसँग पनि खुलेर कुरा गर्दैनन्। एकलौटी निर्णय लिने गर्छन् । तर जानीबुझी आफ्ना श्रीमती वा श्रीमानसँग खुल्न नचाहनु, केही कुरा लुकाउनु, कुनै पनि कुरा साझेदार नगर्नु भनेको एक हिसाबाले भावनात्मक अत्याचार हो ।

श्रीमान वा श्रीमती दुवैजना एकै प्रवृत्तिका हुँदैनन् । उनीहरूमध्ये एक जनाले पारिवारिक मर्यादा बुझेका हुन्छन् । उनीहरू दाम्पत्य कलहले पार्न सक्ने असरबारे सचेत हुन्छन् । सामाजिक प्रतिष्ठा कायम राख्ने सोच हुन्छ । त्यसैले उनीहरू पार्टनरको खराब बानीलाई पनि ढाकछोप गरेर बस्छन् । अरूको सामु त्यस्ता कुराहरू उनीहरू व्यक्त गर्दैनन् । त्यस्ता कुरा आफ्नै पार्टनरसँग पनि खुलेर विरोध गर्दैनन् । बरु सहन्छन्, चुपचाप बस्छन् । तर, अर्का पार्टनरले यसलाई नै कमजोरी ठान्छन् । यही कमजोरीमा टेकेर अरू अत्याचार गर्न थाल्छन्।

आफ्ना जीवनसाथीसँग कुनै पनि कुरा साझेदार नगर्नु वा उनको हरेक कुरामा असहमत हुनु पनि भावनात्मक अत्याचार मानिन्छ। अत्याचार भन्नासाथ कुटपिट वा शारीरिक रुपमा कुनै हिसाबले यातना दिनुलाई मानिन्छ। तर भावनात्मक अत्याचार शारीरिक यातनाभन्दा बढी पीडादायी हुन्छ ।

त्यसैगरी कतिपय श्रीमान वा श्रीमतीको पार्टनरलाई होच्याउने बानी हुन्छ। कुनै पनि कुरामा आफू मात्र जान्ने छु भन्ने र पार्टनरको हरेक कुरामा टिप्पणी गर्ने प्रवृत्ति हुन्छ। कोही पनि मान्छे आफैँमा पूर्ण हुँदैनन् । हरेकको आफ्नै गुण हुन्छ र दोष पनि। पार्टनरलाई आफूजस्तै देख्न खोज्नु वा उनमा पूर्णता खोज्नु पनि एक किसिमको अत्याचार नै हो ।

दाम्पत्य जीवनमा भौतिक सुख-सुविधा मात्र पर्याप्त छैन। अक्सर श्रीमानमा कमाइ गरेर ल्याएको छु, खाना दिएको छु, लगाउन दिएको छु, किनमेल, घुमफिर, मनोरञ्जन सबै कुरा पूरा गरिदिएको छु् भन्ने सोच आउँछ। यसैगरी अक्सर श्रीमती भान्साको काम सम्हालेकी छु, बालबच्चा स्याहारसुसार गरेकी छु, लुगाफाटो धुने, घर सफा गर्ने सबै काम भ्याएकी छु भनेर सोच्छन् । दाम्पत्य जीवनमा यस किसिमको व्यावहारिक तालमेल चाहिन्छ । तर यो आफैँमा पर्याप्त छैन ।

दाम्पत्य सम्बन्धलाई अरू प्रगाढ बनाउनका लागि एकअर्काबीच भावनात्मक साथ र सहयोग पनि आवश्यक हुन्छ । श्रीमान् र श्रीमतीले एकअर्कासँग खुलेर कुराकानी गर्नु आवश्यक हुन्छ। घर-व्यवहारको कुरामा मात्र होइन, भावनात्मक कुरा पनि हो।

धेरैजसो अवस्थामा श्रीमान वा श्रीमतीले एकअर्काको रुचि, चाहना, इच्छा, आकांंक्षाबारे त्यति खुलेर बहस गर्दैनन् । व्यक्त नगरे पनि आफ्नो कुरालाई पार्टनरले बुझेका छन् वा बुझ्नुपर्छ भन्ने धारणा राख्छन् । आफ्ना स-साना रुचिको कुरा मात्र होइन, घर-व्यवहारको कुरामा पनि उनीहरू यस्तै सोचाइ राख्छन् । सामान्य लागे पनि यही कुराले दम्पतीबीच मनमुटाव ल्याउँछ ।

त्यसैले दम्पतीबीच यस्ता कुरामा आपसी संवाद हुन जरुरी छ । उनीहरूले आफ्नो व्यक्तिगत रुचि, धारणादेखि पारिवारिक योजनासम्मका कुराहरू एकअर्कासँग साट्नु आवश्यक छ । यसरी भावनात्मक रुपमा एकढिक्का भएपछि मात्र व्यवहारिक तालमेल मिलाउन सहज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *