बच्चालाई किन भन्ने तिमीले सक्दैनौ

बच्चालाई किन भन्ने तिमीले सक्दैनौ

एउटा गाउँमा दुई बच्चा थिए खुब मिल्ने । एकसाथ खाने, खेल्ने, रमाउने । एक जनाको उमेर ८ बर्ष र अर्कोको ६ बर्ष ।
एकदिन उनीहरु खेल्दा खेल्दै घरबाट निकै टाढा पुगे । खेल्ने क्रममा घरबाट यति टाढा पुगेको उनीहरुले भेउ नै पाएनन् । त्यहाँ उनीहरु मस्त खेलिरहेका थिए । यस्तैमा एक बालक हठात खाल्डोमा लडे, जुन निकै गहिरो थियो । यसरी लड्ने बालक उमेरले ठूला थिए । अब उसलाई कसले बचाउने ?

साना साथी यताउता दौडन थाले । हार–गुहार माग्न थाले । तर, त्यहाँ सहयोगका लागि आउने कोही थिएनन् । न घर थियो, न बस्ती । न आसपासमा कोही मान्छे ।

साथीलाई बचाउनका लागि कोही आउने छाँट नदेखेपछि साना साथी आफै अग्रसर भए । उनले एउटा डोरी खोजे । त्यसको एक छेउ खाल्डोभित्र दिए, अर्को छेउमा आफुले ताने । आखिर खाल्डोमा बसेका बालकले त्यही डोरी समाए । साना साथीले तानेर उनलाई खाल्डोबाट बाहिर निकाले । के यो संभव हुने कुरा थियो ?

जब उक्त बालकहरुको कुरा सुने, घर एवं गाउँका मान्छेहरु विश्वस्त हुन सकेनन् । आफुभन्दा साना उमेरका बच्चाले अर्को ठूलो बच्चालाई खाल्डोबाट कसरी बाहिर निकाले ?

त्यहाँ एक सज्जन थिए, जसले बच्चाहरुको कुरा पत्याए । अब गाउँलेको जिज्ञासा उनै सज्जनमाथि थोपरियो । गाउँलेहरुले सोधे, ‘कसरी यो संभव भयो ?’

तब सज्जन व्यक्तिले जावफ दिए, ‘एउटा सानो बच्चाले आफुभन्दा बढी उमेरका साथीलाई खाल्डोबाट निकाले । यो काम यसकारण संभव भयो कि त्यहाँ ति सानो बच्चालाई उक्त काम असंभव छ भनेर भन्ने कोही थिएनन् । तिमीले यो काम सक्दैनौं भन्ने कोही थिएनन् । यसकारण उनको आत्मबल उच्च भयो । उनले यो सोचेनन् कि मैले आफुभन्दा ठूलो साथीको उद्वार गर्न सक्दिन । उनले त हरक्षण यो सोचिरहे कि, म सक्छु । यही आत्मबलले यो सबै संभव भयो ।’

हामी ठान्छौं, आफ्ना बालबच्चालाई हरेक कुरा सहज होस् । कुनैपनि कुरामा अप्ठ्यारो एवं असजिलो झेल्न नपरोस् । उनीहरुले दुःख गर्न नपरोस् ।

यस्तै सोचाईले गर्दा हामी बालबच्चालाई जुनसुकै काममा साथ र सहयोग गरिरहेका हुन्छौं । जस्तो खेल्नेकुरा राख्न, मिलाउन सहयोग गर्छौं । हामी आफैले हात समातेर दाँत ब्रस गरिदिन्छौं । उनको लुगाफाटो हामी आफै मिलाइदिन्छौं । उनले खाएको जुठो भाडावर्तन हामी आफै उठाइदिन्छौं । उनले फोहोर बनाएको लुगा हामी आफै फेरिदिन्छौं । त्यती मात्र होइन, खानेकुरा समेत हामी आफै ख्वाइदिन्छौं ।

कतिपय कुरामा बच्चाले ढंग पु¥याएर काम गर्दैनन् । त्यस्तो अवस्थामा उनलाई कुन काम कसरी गर्ने भनेर सिकाउन सकिन्छ । तर, हामी आफै अग्रसर भएर उनको काम गरिदिनु उचित हुँदैन । जब जब हामी बालबच्चाले गर्न सक्ने काम पनि आफै गरिदिन्छौं, उनीहरुमा खराब बानीको विकास हुन्छ । बालबच्चा थाहै नपाई परनिर्भर हुन थाल्छन् । उनीहरुलाई लाग्छ, मेरो सबै काम आमाबुवाले नै गरिदिन्छन् ।

सरसर्ती हेर्दा त यो कुरा राम्रै लाग्छ । कम्तीमा आफ्ना बालबच्चाले दुःख पाएनन् । तर,यसले उनीहरुलाई आत्मनिर्भर बन्नबाट रोक्छ ।

आमाबुवाले जानेर वा नजानेर कतिपय कुरामा बालबच्चामाथि अनावश्यक हस्तक्षेप पनि गरिरहेका हुन्छन् । जस्तो कि, बालबच्चाहरु आफै खाना खान रुची गर्छन् । आमाबुवा भन्छन्, ‘तिमीले खान जान्दैनौं, खानेकुरा जुठो बनाएर छाड्छौं ।’ आमाबुवाकै नक्कल गर्दै बालबच्चा लुगा धुन तम्सन्छन् । आमाबुवा भन्छन्, ‘तिमीले सक्दैनौं, अहिले सबै भिज्छौं ।’ बालबच्चा आमाबुवासँगै सागसब्जी गोडमेल गर्न चाहन्छन् । आमाबुवा भन्छन्, ‘तिमीले सक्दैनौं, यहाँ हिलो लाग्छ । लुगा फोहोर हुन्छ ।’

यसरी धेरै कुरामा बालबच्चालाई आमाबुवाले भनिरहेका हुन्छन्, ‘तिमीले सक्दैनौं ।’ आमाबुवाको यस किसिमको हस्तक्षेपले उनीहरुको मनोवल कमजोर हुँदै जान्छ । जब बालबच्चा आफै केही गर्न उत्साहित हुन्छन्, तब आमाबुवाले ‘तिमीले सक्दैनौं’ भनेको कुराले उनीहरुलाई पछाडि हट्न बाध्य गराउँछ ।

बालबच्चाको जीवन सहज होस् भन्ने सोचाई राख्नुलाई अन्यथा मान्न सकिदैन । तर, उनीहरुलाई सुख र सुविधा दिने चक्करमा परनिर्भर पो बनाउँदैछौं कि ? उनीहरुको मनोबल पो कमजोर बनाइरहेका छौं कि ? आमाबुवाले यो कुरा मनन गर्नैपर्छ । उनीहरुलाई सुखमा रमाउन मात्र होइन, दुःखको सामना गर्न पनि सिकाउनुपर्छ ।

हरेक बच्चा आफैमा कमजोर हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *