गड्डाचौकी नाकाबाट करिब ७ सय नेपालीहरु भित्रिए

गड्डाचौकी नाकाबाट करिब ७ सय नेपालीहरु भित्रिए

भवानी भट्ट,कञ्चनपुर — कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट मंगलबार करिब ७ सय नेपालीहरु भित्रिएका छन् । भारतका विभिन्‍न क्षेत्रबाट आएका उनीहरुको नाकामै सबै विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो ।

गड्डाचौकी नाकाबाट सोमबारदेखि नेपालीहरुलाई भित्र्याउन सुरु गरिएको हो ।दोस्रो दिन बिहानैदेखि विभिन्‍न क्षेत्रबाट पैदल र सवारी साधनमा आएका यात्रुहरु दशगजामा पग्न थालेका थिए । उनीहरुलाई पालैपालो भित्र्याएर सम्बन्धित जिल्लातर्फ पठाइएको छ ।

सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी वीर सिंह साहुका अनुसार मंगलबार गड्डाचौकी नाकाबाट ६ सय ९५ जना भित्रिएका छन् । उनीहरुलाई दशगजाबाटै सवारी साधनमा हालेर सम्बन्धित स्थानीय तहतर्फ पठाइन लागेको उनले जानकारी दिए । ‘सबैलाई आफ्नै स्थानीय तहमा पठाउन लागिएको छ, साँझ सम्म यो काम सकिनेछ’ उनले भने, ‘हिजो (सोमबार) को तुलनामा आज भिडभाड कम भयो ।

जिल्लाका विभिन्न अवैध नाकाबाट लुकिछिपि भित्रिनेहरुका कारण संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारदेखि गड्डाचौकी नाकाबाट भित्र्याउन सुरु गरेको हो । पहिलो दिन २७ सय बढी नेपालीहरु भित्रिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई आ–आफ्नो स्थानीय तहमा पठाइसकिएको एसपी साहुले बताए । स्थानीय प्रशासनले सांझ र बिहान गरि दिनमा दुई समय नाका खुला गरेर भित्र्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *