परराष्ट्रमन्त्री ज्ञवाली ५ सदस्यीय टोलीसहित चालिसौं बैठकमा भाग लिन जेनेभा प्रस्थान, यस्तो छ कार्यतालिका

परराष्ट्रमन्त्री ज्ञवाली ५ सदस्यीय टोलीसहित  चालिसौं बैठकमा भाग लिन  जेनेभा प्रस्थान, यस्तो छ कार्यतालिका

काठमाडौं, फागुन ११ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालिसौं बैठकमा भाग लिन ५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार साँझ जेनेभातर्फ प्रस्थान गरेका छन्।

फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । प्रतिनिधिमण्डल फागुन १६ गते स्वदेश फर्किने छ । प्रतिनिधिमण्डललाई विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव शंकरदास वैरागी तथा मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।उनले युरोपेली आणविक अनुसन्धान संगठनको पनि भ्रमण गर्नेछन् । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघ र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *