कसको उपचार गर्ने, कसको नगर्ने ? :डाक्टरको द्विविधा

कसको उपचार गर्ने, कसको नगर्ने ? :डाक्टरको द्विविधा

७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दिनानुदिन बढ्दै छन् । त्यसैले स्वाभाविकरुपमा नै विश्वभरका कोभिड अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । यस्तोमा धेरै अस्पतालहरूको अवस्था यस्तो भइसकेको छ कि उपचारको लागि बेड, भेन्टिलेटर र औषधिको अभाव पनि देखिएको छ ।

अन्तिम श्वास लिँदा पनि बिरामीलाई बचाउने प्रयास गर्नु डाक्टरको धर्म हो । तर, अहिले डाक्टरहरूलाई एक कठिन फैसला गर्नुपर्ने समस्या आइपरेको छ । अस्पतालको सीमित स्रोत र साधनको बीचमा कसको उपचार गर्ने र कसको नगर्ने भन्ने अन्योल उनीहरूमा रहने गरेको छ ।यस किसिमको फैसला कुनै पनि डाक्टरको लागि सजिलो पक्कै पनि हुँदैन । डाक्टरहरूले यो फैसला न्युइंगल्याण्ड जनरल अफ मेडिसिन (एनईजेएम)को दिशानिर्देशको आधारमा लिने गरेका छन् । तर पनि केही बिरामीहरूलाई भर्ना नलिएकोमा डाक्टरहरूको आलोचना भइरहेको छ ।

सन् २०२० को मार्चमा विश्वका चर्चित डाक्टरहरू र वैज्ञानिकहरूले यसबारेमा एक दिशानिर्देश जारी गरेका थिए । यो दिशानिर्देश न्यु इंगल्याण्ड जनरल अफ मेडिसिनमा प्रकाशित भएको थियो ।यसमा यो महामारी नियन्त्रणका लागि मेडिकल स्रोत साधनको किफायती प्रयोगको लागि सुझाइएको छ । कुनै पनि बिरामीलाई जो पहिला आउँछ, त्यसलाई राख्ने सूत्र प्रयोग गर्नुभन्दा पनि बिरामीको अवस्थालाई हेरेर उपचार गराउनु उचित हुन्छ । चाहे त्यो बच्चा होस् वा वृद्ध ।

यही दिशानिर्देश इटालीका डाक्टरलाई पठाउँदा उनीहरूले भने सबैभन्दा पहिला बाँच्ने सम्भावना बढी रहेका र कम उमेरका मानिसलाई बचाउने प्रयास गर्ने निधो गरे । अर्थात्, उनीहरूका अनुसार सबैभन्दा पहिला युवापुस्तालाई बचाउनु जरुरी थियो । केहीले यसमा सहमति जनाए भने धेरैले यसको आलोचना गरे ।आलोचकहरूका अनुसार भेन्टिलेटरमा वृद्ध र युवा मानिस दुवै छन् भने को बाँच्न सक्छ र को सक्दैन भन्ने निर्णय गर्नु निकै कठिन हुन्छ । यस्तोमा युवालाई पहिला उपचार गराउने तर्क गलत साबित हुने उनीहरूको भनाइ छ ।शोधकर्ताहरूले भने बिरामीलाई अस्पतालमा भर्ना गर्दा नै उसलाई अस्पतालमा सबैभन्दा आवश्यकता भएका मानिसलाई मात्र भेन्टिलेटर वा आईसीयूको बेड दिइने उल्लेख गरिनुपर्ने बताउँछन् ।

भलै यो फैसला निकै कठिन अवस्थामा लिइने गरिएको होस् । तर, उमेर र बिरामीको अवस्था हेरेर उपचार गर्नु नैतिक रुपमा गलत हो ।

अस्पतालमा भर्ना भएका केही मानिसको अवस्था यस्तो हुन्छ कि उनीहरूलाई हरेक समयमा एक जनाको आवश्यकता पर्छ । यस्तो अस्थामा जो बिरामी छ उसको मृत्यु नहुन पनि सक्छ । तर, उनीहरूको सेवामा संलग्न मानिसहरूलाई भने पक्कै पनि संक्रमण हुने सम्भावना हुन्छ ।पछिल्ला दिनहरू हेर्ने हो भने पनि अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण निकै तीव्र गतिमा फैलिएको छ । बेलायत, अमेरिका र युरोपभरका अस्पतालमा नै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उल्लेख्य छ ।

कठिन समय, कठिन फैसला

इङ्गल्याण्डको स्वयंसेवामा काम गर्ने संस्था डिसएबिलिटी राइट्सले ब्रिटिस मेडिकल एसोसिएसनले एक खुला पत्रमा अशक्त र वृद्ध मानिसलाई उपचारमा बेवास्ता हुन नहुने बताएको छ । तर, कोरोनाबाट धेरै प्रभावित बनेका मुलुकमा भने डाक्टरहरूलाई बिरामीको उपचारमा कठिन फैसला गर्न बाध्य पारिँदै आएको छ ।डाक्टरहरूले जुन आधारमा रहेर फैसला गरिरहेका छन् । उक्त तर्कको पुष्टि गर्न उनीहरूसँग पर्याप्त प्रमाण पनि छैन ।अमेरिकामा महामारी सुरु हुनुभन्दा पहिला नै भेन्टिलेटरको कमी रहेको चेतावनी दिइएको थियो । त्यहाँ कोरोना भाइरसका बिरामीको उपचारको लागि एड्स र मानसिक रोग भएका मानिसहरूलाई भेन्टिलेटरको सुविधाबाट बञ्चित गरिएको थियो । यो जानकारी बिरामीको कागजातबाट खुलेको थियो ।

स्वास्थ्यकर्मीलाई नैतिक प्रश्न

अल्जाइमर डिजिज इन्टरनेसनलकी मुख्य कार्यकारी अधिकारी पाउला बार्बरिनोका अनुसार अहिले उमेर र बिरामीको अवस्थाको आधारमा उपचारको आवश्यकता परेका बिरामीको बेवास्ता गर्ने क्रम भइरहेको बताउँछिन् । उनी यस्तो काम सरासर गलत रहेको बताउँछिन् । यो आधारमा कसैलाई पनि भेदभाव गर्न नहुने उनको भनाइ छ ।

मार्च २१ मा बेलायतको नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर एक्सिलेन्सले नयाँ दिशानिर्देशमा एक देखि ९ नम्बरसम्म दिइएको थियो । जसअनुसार प्राथमिकता निर्धारण गरिन्थ्यो । जसमा स्वस्थ बिरामीलाई एक नम्बर दिइएको थियो भने नौ नम्बरमा सबैभन्दा धेरै बिरामी भएका मानिसलाई राखिएको थियो । तर, यो सूची पनि पूर्णरुपमा सही भने छैन ।

यो आधारमा बिरामीलाई धेरै प्रश्न गरिन्छ र बिरामीको उत्तरको आधारमा रणनीति तयार गरिन्छ । यस्तोमा सोधपुछ गर्दा बिरामीको अवस्था झन् खराब हुन सक्ने जोखिम हुन्छ । साथै, त्यसपछि बिरामीलाई केही भयो वा भेन्टिलेटरको आवश्यकता प¥यो भने के होला भन्ने प्रश्न पनि उठेको छ ।ब्रिटिश मेडिकल एसोसिएसनले अप्रिल १ मा आफ्नो दिशानिर्देश जारी गरेको थियो । यसमा डाक्टरहरूले भेन्टिलेटरजस्तो केही सुविधा फिर्ता लिन सकिने उल्लेख थियो । जसबाट उनीहरूले ठिक हुने सम्भावना बढी भएका मानिसलाई बचाउन सकिने बताएका थिए ।विश्वभरका बिरामीको अवस्था र स्वास्थ्यसम्बन्धी उपकरणको कमीलाई ध्यानमा राख्दै कठिन फैसला लिन यस्तै दिशानिर्देश जारी गरिँदै आएको छ । यो दिशानिर्देश धेरैभन्दा धेरै मानिसलाई बचाउनका लागि अघि सारिएको हो । तर, यसले मानिसहरूमा भय पैदा भएको हो । यस्तोमा केही कठिन फैसलाले स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ । किनकि स्वास्थ्यकर्मीलाई कुनै पनि अवस्थामा बिरामीको ज्यान बचाउने तालिम दिइएको हुन्छ । यस्तो दिशानिर्देश आएपछि धेरै स्वास्थ्यकर्मीहरू बिदा लिएर बसेको समाचार सार्वजनिक भएको छ ।

स्रोत : बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *