हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

माननीय स्वास्थ्यमन्त्रीज्यू,

नमस्कार !

म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो ।

म भने खुसी हुन सकेको छैन । मलाई आत्मबल बलियो बनाएर मात्र कोरोना भाइरसलाई जित्न सकिँदैन भन्ने लाग्न थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन संक्रमितलाई पौष्टिक खाना, सरसफाइ, उपचारलगायतका मापदण्डबारे तपाईंलाई बताइरहनु पर्दैन । किनकी तपाईंको हातमा स्रोतसाधन र वरपर विज्ञ सल्लाहकार रहेका छन् ।हामी अस्पताल आएको शुक्रबार ६ दिन भयो । संक्रमितको रुपमा अस्पतालमा बसाई‌‌को अनुभव तपाईंलाई सुनाउन यो पत्र लेख्दैछु । बारा र पर्सामा आइतबार दुई पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण देखिएछ । अरू बेलामा संक्रमितलाई लिन जाँदा काउन्सिलिङ गर्ने स्वास्थ्यकर्मीसमेत हुने गरेकामा हामी दुई पत्रकारलाई एम्बुलेन्स चालक र सुरक्षाकर्मीले अस्पताल ल्याए ।

नारायणी अस्पतालको प्रसूति वार्डमा तयार पारिएको आइसोलेसनलाई नगन्हाउनेसम्म बनाइएको रहेनछ । पहिला १२ वटा बेड रहेको कोठामा अहिले आठ बेड राखिएको रहेछ । दुईवटा बेडका लागि एउटा पंखा छ । कोठाको एक छेउमा सामूहिक धारा छ ।आइसोलेसन वार्ड बनाइएको प्रसूतिका तीन कोठामा २३ जना संक्रमित राखिएको छ । २३ जनाका लागि दुईवटा शौचालय छ, एउटामा ढोका छैन । प्यानको कुरा गरिसाध्य छैन, भुइँ र भित्ता काईले छोपिएको छ । सफा भन्न नमिल्ने बाथरुम पनि सामूहिक नै छ । यसलाई दैनिक एकपटक सफा गरिदिने व्यवस्था मिलाउन सकिन्छ कि ?

अब कुरा गरौं, खानेकुराको । पहिलो रात दाल–भात, तरकारी खाएर सुत्यौं । बिहान खाजामा दूध, अण्डा र पाउरोटी आयो । म अण्डा खान्न । खाना ११ बजे आयो, दिउँसोको खाजामा चाउचाउ मिल्यो ।अर्को बिहानको खाजामा बिस्कुट र दुई–दुईवटा अण्डा थियो । अण्डा नखानेका लागि एउटा टाइगर बिस्कुट । दिउँसोको खाना ढिलै आयो । भोकले रन्थनिन थालेपछि केही साथी कराउन थाले, सुनिदिने कोही थिएनन् । मान्छे त्यसै झ्याल फोडेर भाग्ने अवस्था आएको हैन नि मन्त्रीज्यू !

चौथो दिन बिहान पनि मेरो लागि खाजा गतिलो भएन–अण्डा नखाने भएपछि उही एउटा टाइगर बिस्कुटले गुजारा गर्नु पर्‍यो । मैले मेरो बालक छोरालाई नै बिहान दुईटा यो टाइगर बिस्कुट दिने गरेको थिएँ । अहिले उसको बाउले एउटा टाइगर खाएर कोरोना भाइरससँग लड्नु परेको छ । पिरो खाँदै नखाने मान्छे, भयंकर पिरो खानुपर्ने बाध्यतामा छु ।

अस्पतालले सकेको खुवाएको छ । यसमा सरकारी सहयोग बढाउनुपर्ने देखियो, मन्त्रीज्यू ।

हामीले तातो पानीका लागि पनि ठूलै कसरत गर्नु पर्छ । कोरोना पोजेटिभ हुँदा सबै शुभचिन्तकले तातोपानी खान सल्लाह दिएका थिए । तर, आइसोलेसन वार्डमा आउँदा चिसो पानीको समेत व्यवस्था थिएन । पहिलो रातको कुरा लेखिसकेकाले यहाँ दोहोर्‍याउँदिन ।

बिहान तातोपानीका लागि पहल गर्‍यौं । ९ बजेतिर तातो र चिसो पानी दिने एउटा इलेक्ट्रिक मेसिन आइपुग्यो । त्यो पनि सफा नगरी पठाएछन् । कपडा मगाएर पुस्ने–पखाल्ने काम गरियो । २३ जनालाई एउटा मेसिन र एक जार पानी । एकै छिनमा सकियो । यसबारे जानकारी गराएपछि महानगर प्रमुखले बल्ल बेलुका पानीका जार पठाइदिनुभयो ।हामीले पानीका लागि छटपटिँदै त्यो दिउँसो कटाउन परेको थियो । कति साथीले त ढोका नै फोडुँला जस्तो गरे । बाँकीले सम्झाएर राख्यौं । कोरोना संक्रमितका कोठैपिच्छे एक–एक वटा मेसिन र जारको व्यवस्था गर्न सके सहज हुने थियो, मन्त्रीज्यू ।

कोरोनाविरुद्धको लडाइँमा व्यक्तिगत सरसफाइ महत्वपूर्ण हुने हुँदा आइसोलेसन वार्डहरूको सफाइबारे पनि मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु । तपाईं पस्न डराउने ट्वाइलेट–वाथरुम हामी प्रयोग गर्दैछौं । तर हामी संक्रमितले सकेसम्म फरक चर्पी प्रयोग गर्नुपर्छ भनिएको छ । तर यहाँ हामी २३ जनाका लागि दुईवटा चर्पी छ । त्यसमध्ये एउटामा त ढोका पनि नभएकाले बिहान पालो पाउन मुस्किल पर्छ ।भित्र हामी जसोतसो जब्बर भएर बसेका छौं । तर बाहिर सामाजिक व्यवहार बिग्रेको छ । हामी संक्रमित भएपछि हाम्रा परिवार र साथीहरू समेत दुर्व्यवहारमा पर्न थालेका छन् । छरछिमेकको व्यवहार बदलिएको छ । हाम्रा परिवार चिन्तित छन्, निश्चिन्त गराउने उपाय अपनाइएको छैन ।

त्यसो त आइसोलेसनमा पनि संक्रमितप्रति ठीक व्यवहार भइरहेको छैन । हाम्रा लागि चिडियाखानाको जस्तो ढोकामा खाजा–खाना ल्याएर छोडिन्छ । फेरि सबै संक्रमित सबै पक्षमा सचेत छन् भन्ने होइन । उनीहरूमध्ये कति डाक्टर, नर्स आएर नभेटेकोमा रुष्ट छन् ।डक्टर–नर्स आएर ‘कस्तो छ ?’ भन्दा बिरामीको आधा दुःख दूर हुन्छ । तर, हाम्रो वार्डभित्र जम्मा एक पटक एउटी नर्स औषधि दिन छिरेकी थिइन् । त्यसपछि कुनै स्वास्थ्यकर्मी देखिएका छैनन् ।

हामी पत्रकारको त कुरा सेयर गर्ने दायरा पनि अलि फराकिलो हुन्छ । विभिन्न व्यक्तिका विविध कुराबाट पनि हामी आफूलाई सम्हाल्छौं । तर, सबै संक्रमित त्यो मानसिक स्थितिमा छैनन् । उनीहरूलाई खोई काउन्सिलिङ ? आइसोलेसनबाट भाग्ने अवस्था त्यसै आएको हैन, मन्त्रीज्यू ।संक्रमित भनेको बिरामी हो । बिरामी भागे गोली ठोक्ने निर्णय आधुनिक युगको कुनै पनि सरकारबाट हुनुहुँदैन । उनीहरूलाई सामान्य मानवीय व्यवहार र काउन्सिलिङ गरे काफी हुनेछ मन्त्रीज्यू ।

आइसोलेसनमा वार्डमा ‘अनुशासनमा बसौं, सभ्य नागरिकको परिचय दिऔं’ लेखिएको छ । यो भनेको के हो ? संक्रमितलाई बुझाउन आवश्यक छ । बुझाउने काइदा पनि सभ्य नै हुनपर्दो हो । सामान्य व्यवहारिक जीवन बिताइरहेका नागरिकहरू आइसोलेसन वार्डमा आएका छन् । यीमध्ये कोही त धेरै दिन क्वारेन्टाइनमा बसेका पनि छन् । कोही काम गर्ने ठाउँबाट पैदल हिँडेर, ट्रक वा कन्टेनरमा कोचिएर फर्केका छन् । उनीहरूको मनोदशा मैले व्यक्त गर्न सक्ने कुरै भएन ।

हाम्रो स्वास्थ्य तपाईंको हातमा छ । आइसोलेसनभित्र, बाहिर सबैतिरको माहोल सुधार्न तपाईं र तपाईको टिम लाग्नुभएको छ । सफलता वा असफलता मूलतः तपाईंको क्षमताले निर्धारण गर्छ । कहाँ, के गर्नुपर्ने हो तपाईंलाई बताउन विज्ञहरू छन् ।

केही पूर्वतयारी नभएको बेला कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । अहिलेलाई सबैकुरा तपसिलमा राखेर कोरोना भाइरसको ‘चेन’ भत्काउनु पर्नेछ । त्यसका लागि हामी जनता तयार छौं, मन्त्रीज्यू पो के गर्दै हुनुहुन्छ ?(onlinekhabar.com)

सुरेश बिडारी

नारायणी अस्पताल, आइसोलेसन वार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *