मुख्यमन्त्री भट्टलाई अछामका स्थानीय तह प्रमुखको आग्रह – भारतमा रहेका नेपालीहरुको बारे केहि सोचौ

मुख्यमन्त्री भट्टलाई अछामका स्थानीय तह प्रमुखको आग्रह - भारतमा रहेका नेपालीहरुको बारे केहि सोचौ

तपेन्द्र कुँवर,बैशाख २४अछाम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र अछामका १० वटा स्थानीय तहका प्रमुख विच आज टेलिफोनमा वार्ता भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम, कोरोना भाइरस (कोभिड–१९) र आगामि आर्थिक वर्षको वजेटका विषयमा मुख्यमन्त्री भट्टसँग अछामका नगर प्रमुख तथा अध्यक्षविच छलफल भएको हो । अछामका स्थानीय तहका प्रमुख तथा अध्यक्षले कोरोना भाईरस परीक्षणको दायरा बढाउन मुख्यमन्त्रीसँग माग गरेका छन् । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कोरोना भाईरस रोकथाम तथा आरडिटी परिक्षण दायरा बढाउनको लागि माग गर्नुभएको छ । यस्तै नगर प्रमुख कुँवर अन्य पालिकाका प्रमुखले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउनको लागि केन्द्र सरकारसँग पहल गर्ने आग्रह गरेका थिए । नगर प्रमुख कुँवरले प्रदेशबाट विनियोजित हुने योजनाको वारेमा स्थानीय सरकारलाई जानकारी दिनुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै अवको प्रदेशको वजेट उत्पादनमुलक क्षेत्रमा जोड्नको लागि आग्रह गर्नुभएको थियो । मंगलसैन नगर प्रमुख पदमबहादुर वोहराले अवको वजेट कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित गर्नको लागि जोड दिनुभएको थियो । उहाँले जिल्लामा रहेका दुई वटा अस्पतालको स्तरउन्नतीसँगै आवश्यक दक्ष जनशक्तिको माग गर्नुभएको थियो । यस्तै शिक्षाको आधुनिकिरण गर्दै रोजगारमुलक क्षेत्रमा जोड्नको लागि आग्रह गर्नुभयो । उहाँले लकडाउनको सदुपयोग गर्दै कृषि क्षेत्रमा वजेट केन्द्रित गरेर भारत तथा तेस्रो मुलकबाट आएका नागरिकलाई प्रदेशमा नै रोक्नको लागि आयमुलक वजेटमा जोड दिनुभएको थियो ।

यस्तै कमलवजार नगरपालिकाका प्रमुख ओमप्रकाश विस्टले स्थानीय तहले छनोट गरेका योजनालाई प्राथमिकता दिनको लागि मुख्यमन्त्रीसँग आग्रह गर्नुभएको छ । उहाँले अछामको गौरवको रुपमा रहेको कर्णालि चिसापानी गुट रामारोशन हुँदै ताक्लाकोटसम्म जोड्ने सडकलार्ई प्राथमिकता दिनको लागि आग्रह गर्नुभयो । मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर वोहराले टुक्रे योजनालाई नभई जिल्लाको समृद्धिसँग जोडिएका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो । उहाँले अवको प्रदेशको वजेट रोजगारमुलक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । यस्तै लकडाउनको समयमा रोकिएका योजना सुरुवात हुनुपर्नेमा जोड दिनुभएको छ । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले चिसापानी जंगलघाट सडकलाई मुख्य प्राथमिकता दिन माग गर्नुभयो । यस्तै उहाँले रोजगारकमुलक क्षेत्रमा वजेट केन्द्रित गर्न माग गर्नुभयो ।

दशवटै स्थानीय तहका माग सुनेपछि जवाफ दिदै मुख्यमन्त्री भट्टले कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि कुनै कसर वाँकी नराख्ने बताउनुभयो ।उहाँले किट केन्द्र सरकारसँग नै अभाव रहेको बताउँदै केन्द्रमा आएपछि सवै जिल्लामा पठाईने जानकारी दिनुभएको छ । यस्तै उहाँले आगामि आर्थिक वर्षको वजेट कृषि क्षेत्रमा केन्दित हुने स्थानीय तहलाई जानकारी गराउनुभएको छ । उहाँले स्थानीय तहका सुझावहरुलाई प्रदेश सरकारले ग्रहण गर्नमा जोड दिनुभएको छ । यस्तै मुख्यमन्त्री भट्टले भारतबाट फकाउर्न अधिकार प्रदेश सरकारको नभएका कारण केन्द्र सरकारसँग पहल गर्ने जवाफ दिनुभएको थियो ।

मुख्यमन्त्रीसँग पन्चदेवल नगरपालिका प्रमुख देवराज देवकोटा, वान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्का, रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद, ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर वुढा र चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले पनि कुराकानी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *